FAQs Complain Problems

समाचार

राप्ती गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भालुवाङ १७ असार । दाङको राप्ती गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाले खोपको सबै कार्य पूरा गरेपछि पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।गाउँपालिकाका ९ वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि अनुगमनको कार्य समेत सम्पन्न भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

स्वास्थ्य शाखा प्रमुख राउतले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९/०८० मा राप्ती गाउँपालिकाको ९ वटै वडामा रहेका जन्मे देखि १५ महिना मुनिका कुल ८ सय ४९ जना बालबालिका मध्ये ७ सय २८ जना बालबालिकाले ९ प्रकारको खोप लिएपछि पालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । जसमा ४ जनाले कुनै पनि प्रकारका खोप लिएका छैनन् भने ७ जना बालबालिकाले केही खोप मात्र लिएका छन् ।

राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा ३ नम्बर वडा अध्यक्ष उमेश अधिकारीको अध्यक्षता एवम् दाङ जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप कार्य निरन्तर चलिरहने र उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहलाई पुर्णखोप सुनिश्चितता घोषणा र प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको बताए । पुर्ण खोप सुनिश्चिततामा राप्ती गाउँपालिका अगाडि र क्रियाशिल रहेको बताउँदै शर्माले अन्य पालिका पनि यसरी नै क्रियाशील हुनुपर्ने बताएका थिए । खोप लिने उमेर समुहका बालबालिका अझै पनि छुटिरहनु दुखद विषय भएको बताउँदै शर्माले समुदाय स्तरमा सचेतना फैलाउन आवश्यक रहेको बताएका थिए ।

यस्तै राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले पालिकाले स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएको बताउँदै पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । उनले शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो रहेको र गाउँपालिका भित्रका कोही बालबालिका पनि खोपबाट वञ्चित नहुने उनले बताए ।

सो अवसरमा १ वटा प्रस्तावित अस्पताल, १ वटा स्वास्थ्य चाैकी र ७ का स्वास्थ्य इकाईका स्वास्थ प्रमुख तथा वडा अध्यक्षहरूलाई प्रमुख अतिथि शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाण-पत्र हस्तान्तरण गरेका थिए । गाउँपालिकाको सवै वडाका अध्यक्ष तथा स्वास्थ प्रमुखहरुलाई समेत पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, जिल्ला स्वास्थ्य कार्यालय दाङका परिवार नियोजन अधिकृत तथा खोप संयोजक किशोर आचार्य लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालना सुचना अधिकारी विश्वास विकले गरेका थिए ।

आर्थिक वर्ष: